नीति र नेतृत्वबारे बाहिर बहस गर्नुको अर्थ छैन : भट्ट

२०८२ फाल्गुन २७, बुधबार

कैलाली : नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले प्रतिनिधि सभा निर्वाचनको समीक्षा पार्टी कमिटीभित्रै गरिने बताएका छन् । उनले नीति र नेतृत्वसम्बन्धी बहसबारे बाहिर बोल्नुको कुनै औचित्य नभएको पनि स्पष्ट पारे ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको आन्तरिक संरचनामार्फत उठाउनुपर्ने बताए ।

‘नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक हो । त्यसलाई पार्टीको आन्तरिक छलफलमा राख्छौँ । कमिटी प्रणालीमा धारणा राखेर नेतृत्व, नीति, विचार र सिद्धान्तबारे गहिरो समीक्षा हुन्छ,’ उनले भने ।

उनले पार्टीको सचिवालय बैठकमा निर्वाचन परिणामको समीक्षा हुने संकेत गरे । सामूहिक छलफलपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनको भनाइ थियो ।

भट्टले जनताले दिएको जनादेश स्वीकार गर्दै पार्टी नयाँ ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले गरेका काम जनतामाझ प्रभावकारी रूपमा लैजान नसकेको स्वीकार गरे ।

उनका अनुसार भदौ २३ र २४ गते भएका घटनाबारे पनि जनतालाई पर्याप्त रूपमा बुझाउन नसकिएको बताए । ती घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए ।

भट्टले पार्टीभित्र देखिएको आन्तरिक विग्रह, संगठन परिचालनमा कमजोरी र अनुशासनहीनताले पनि निर्वाचन परिणाममा असर परेको उल्लेख गरे । ‘पार्टीभित्रै विग्रह पैदा भयो। संगठनहरू सही ढंगले परिचालित भएनन्। आन्तरिक पंक्ति अनुशासनमा रहेन, अराजकता बढ्यो,’ उनले भने ।

त्यस्तै गलत रिपोर्टिङका कारण पनि समस्या भएको भट्टको भनाइ छ । विद्यालयका केही शिक्षकहरूले विद्यार्थीहरूलाई चुनावी प्रचार गरेको विषयप्रति पनि उनले असन्तुष्टि जनाए ।

कैलाली क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार रहेका भट्टले आफूले विगतमा गरेका विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले आफूलाई विश्वास गरेर मत दिने मतदाताप्रति आभार पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार