काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएपछि राष्ट्रपति कार्यालयले तयारी थालेको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बनाउन लागेको हो।
चैत १२ गते रास्वापको संसदीय दलको नेता बनेर बालेन चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने छन्। रास्वपाले चैत १३ मा नयाँ प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको छ। त्यही अनुसार राष्ट्रपति कार्यालयले पनि तयारी थालेको पाइएको हो।
रास्वपाले प्रधानमन्त्रीको शपथ राष्ट्रपतिको कार्यालय शीतल निवास बाहिर गराउने योजना बनाएको थियो। राष्ट्रपति पौडेल तयार नभएपछि शीतल निवासमै नयाँ प्रधानमन्त्रीको शपथ हुन लागेको बुझिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले शीतल निवासमै शपथको तयारी भइरहेको बताए।









