काठमाडौं : रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेका छन् । ९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनले बताए । उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् । मृतकहरूको नाम संकलन हुँदैछ ।
जिप करिब ८ सय मिटर तल झरेको थियो । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव ल्याउन लागिएको हो ।
रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् ।
रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै अस्पताल लगिएको थियो ।





