इजरायली राजदूत र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता

२०८३ बैशाख २४, बिहीबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरीबासबिच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, श्रम तथा रोजगारीका अवसर, साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

भेटमा शाहीले नेपालले पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, सन्तुलित र शान्तिपूर्ण परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै नेपाल–इजरायल सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र सहकार्यका आधारमा अझ प्रगाढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए ।

छलफलका क्रममा इजरायलमा कार्यरत नेपालीहरूको सुरक्षा र हित संरक्षणलाई प्राथमिकताका साथ सुनिश्चित गर्नुपर्ने विषय उठाइएको थियो । साथै रोजगारीका लागि प्रक्रिया पूरा गरेर पनि जान नपाएका नेपाली कामदारहरूको अवस्थाबारे चासो व्यक्त गर्दै प्रक्रियालाई छिटो टुङ्ग्याउन आग्रह गरिएको बताइएको छ ।

त्यसैगरी कृषि, सूचना प्रविधि, सीप विकास, प्रविधि हस्तान्तरण तथा लगानीका क्षेत्रमा नेपाल र इजरायलबिच सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि सकारात्मक विचार आदानप्रदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार