काठमाडौँ : एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा नयाँ ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ । नेपालमा ओमोडा ई५ पहिले नै लोकप्रिय विद्युतीय सवारीका रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हालसम्म १५ सयभन्दा बढी ई५ नेपाली सडकमा संचालनमा छन् । नयाँ ई५ प्रोले यही सफलतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नयाँ मोडेलमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री, ९९ किलोवाट क्षमताको विद्युतीय मोटर र २८८ न्युटन मिटर टर्क छ । यसले एकपटकको पूर्ण चार्जमा डब्लुएलटिपी मापदण्डअनुसार ३५० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
१९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण यो गाडी नेपाली सडकका विविध अवस्थाका लागि उपयुक्त मानिएको छ । साथै, १८ इन्चका अलोय ह्विलले यसको बाह्य स्वरूपलाई अझ प्रिमियम र स्पोर्टी बनाएको छ । गाडीको बाहिरी बनावट आधुनिक र ‘फ्यूचरिस्टिक’ शैलीमा तयार गरिएको छ । अगाडिको डिजाइन, हावाको प्रतिरोध कम गर्ने बनावट तथा विशेष पछाडिका बत्तीहरूले यसलाई सडकमा अलग पहिचान दिन्छन् ।
गाडीको इन्टेरियर आरामदायी तथा प्रिमियम अनुभव प्रदान गर्ने खालको छ । इलेक्ट्रिक सनरुफ, उच्चस्तरीय सामग्रीको प्रयोग र आधुनिक प्रविधिले यात्रालाई थप सहज बनाउने कम्पनीको भनाइ छ । यसमा मसाज सुविधा भएको चालक सिट, आठवटा सोनी अडियो सिस्टम र १५.६ इन्चको स्क्रिन समावेश गरिएको छ । यी सुविधाले यात्राको अनुभवलाई थप आरामदायी र मनोरञ्जनपूर्ण बनाउने कम्पनीको विश्वास छ ।
सुरक्षातर्फ पनि नयाँ ओमोडा ई५ प्रो निकै सशक्त रहेको कम्पनीले जनाएको छ । यसमा १९ भन्दा बढी उन्नत चालक सहायता फिचर समावेश छन् । साथै, ५४० डिग्री दृश्य देखाउने क्यामेरा प्रणालीले चालकलाई थप सुरक्षा प्रदान गर्नेछ । नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ र डुअल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपियाँ तोकिएको छ ।
सार्वजनिक भएको अवसरमा कम्पनीले पहिलो ५० ग्राहकका लागि विशेष मूल्य घोषणा गरेको छ । यसअन्तर्गत ४९ लाख ९९ हजार रुपियाँमै गाडी उपलब्ध हुनेछ । साथै, एक वर्षको निःशुल्क सवारी सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।









