पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

२०८३ जेष्ठ २४, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

आन्दोलित कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।

निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ ।

प्रदर्शनकारीहरूले मधेश प्रदेश समितिका तर्फबाट ५० प्लस १ बहुमत नपुगेको भन्दै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन् ।

उनीहरूले उक्त निर्णय पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको आरोप लगाएका छन् । उनीहरूले एक पटक निर्वाचन सम्पन्न भई विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने बताएका छन् ।

कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ तथा निष्पक्ष निर्णयको माग गरेका छन् ।

साथै पार्टीले सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने र विधानसम्मत निर्णय गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार