काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम कर्णाली प्रदेश अधिवेशनमा लफडा सुरु भएको छ। महामन्त्री भूपदेव शाह र सहमहामन्त्री वीपिन आचार्यले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोटमा त्रुटि रहेको भन्दै उजुरी परेको हो।
रास्वपा कर्णाली प्रदेशले प्रदेशभरबाट ५३० जना प्रतिनिधिहरू अधिवेशनमा सहभागी भएको जनाएको थियो। तर, ती ५३० प्रतिनिधि मध्ये ३०० प्रतिनिधिहरू नक्कली रहेको भन्दै अधिवेशनको निर्वाचन समितिमा उजुरी परेको छ।
प्रदेश सभापतिका आकांक्षी दैलेखका नन्दकिशोर बस्नेत (एनके) लगायतले निर्वाचन समितिमा उजुरी दिँदै नक्कली प्रतिनिधिहरूमाथि छानबिन हुनुपर्ने माग गरेका छन्। दैलेखका प्रतिनिधि बस्नेतले प्रदेश अधिवेशनका लागि छनौट भएर आएका प्रतिनिधिको योग्यता लगायतका विषयमा दाबी–विरोधसहितको उजुरी परेको जानकारी दिए।
निर्वाचन समिति संयोजक विपी दाहालले उजुरी परेपछि सूचना जारी गरेर कर्णाली प्रदेशका विभिन्न विभागबाट छनोट भएका प्रतिनिधिहरूको सत्यतथ्य पुष्टि गर्न प्रतिनिधिहरूले पार्टी सदस्यता लिएको मिति तथा सम्बन्धित विभागमा नियुक्ति भएको प्रमाणसहितका कागजात माग गरिएको जानकारी दिए।





