काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति भएको छ।
आइतबार नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेश प्रसाद काफ्लेसँग भेट गरी ट्राफिक व्यवस्थापनका विभिन्न विषयमा छलफल गरेको हो।
भेटका क्रममा प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र ट्राफिक प्रहरीबीच दीर्घकालीन तथा सिर्जनात्मक सहकार्य आवश्यक रहेको बताए। उनले काठमाडौंमा ट्राफिक सचेतनामूलक अभियान सञ्चालन गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्मार्ट ट्राफिक लाइट व्यवस्थापनका लागि नाडाले पहल गर्नुपर्ने धारणा राखे।
उनले सवारीसाधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरका प्राविधिक तथा पहिलोपटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिने व्यक्तिलाई ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको ट्राफिक सचेतना प्रशिक्षण दिने व्यवस्था गर्न सके सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने बताए।
त्यस अवसरमा अध्यक्ष उप्रेतीले विगतदेखि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी असार १३ देखि १९ गतेसम्म आयोजना हुने नाडाको ५०औँ वार्षिक साधारणसभा तथा स्वर्ण जयन्ती सप्ताहव्यापी कार्यक्रम सफल बनाउन ट्राफिक प्रहरीको सहयोग आवश्यक रहेको बताए।
उनले ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकर अभियान सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे। छलफलमा नाडाका महासचिव मिलन बाबु मल्ल, उपाध्यक्ष बिक्रम सिंघानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवाल लगायतको सहभागिता रहेको थियो।








