काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ।
असार ५ र ६ गते काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। महाधिवेशनलाई सफल बनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।
समितिमा पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, संघीय तथा प्रदेश सांसद तथा भातृ संगठनका अध्यक्षहरू सदस्य रहने व्यवस्था गरिएको छ।
पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यसम्पादन समितिले आवश्यकताअनुसार विभिन्न उपसमितिहरू पनि गठन गर्नेछ। बैठकले आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशमा प्रदेश अधिवेशन आयोजना गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, कात्तिक ११ देखि ३० गतेसम्म प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। चयन गरिएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति तथा पार्टी सचिवालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
राप्रपाले महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा युवाहरूको प्रतिनिधित्व अनिवार्य रूपमा सुनिश्चित गर्ने निर्णयसमेत गरेको जनाएको छ।









