काठमाडौँ : अमेरिका र इरानबीच पुनः बढेको तनाव तथा स्ट्रेट अफ हर्मुजमा देखिएको ढुवानी अवरोधका कारण सोमबार अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य वृद्धि भएको छ।
ब्रेन्ट क्रुडको मूल्य ०.६८ प्रतिशतले बढेर प्रतिब्यारेल ७२.४८ डलर पुगेको छ भने डब्लूटीआई क्रुडको मूल्यपनि १.१६ प्रतिशतले बढेर ७०.०३ डलरमा कारोबार भएको छ।
हालैका दिनहरूमा इरान र अमेरिकाबीच ‘टिट–फर–ट्याट’ आक्रमणहरू पुनः सुरु भएपछि हर्मुज जलसन्धि हुँदै हुने ऊर्जा ढुवानीमा अवरोध देखिएको छ, जसले विश्व बजारमा आपूर्ति जोखिम बढाएको छ।
गत हप्ता ब्रेन्ट तेलको मूल्य १०.६ प्रतिशतले घटेको थियो, जुन लगातार तेस्रो साप्ताहिक गिरावट थियो। तर त्यसपछि पुनः ढुवानी बढ्दै गएको संकेत देखिए पनि पछिल्लो तनावले बजारमा अस्थिरता कायम राखेको छ।





