काठमाडौँ : उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा एमाले नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई दोषी ठहर गरेको छ।
उच्च अदालत जनकपुरले यसअघि महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको छ। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त बुधबार इजलासले यस्तो फैसला सुनाएको हो।
जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेस प्रदेश सांसद अभिराम शर्मा पक्ष लगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदन उपर अदालते सजाय सुनाएको हो। जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो।
जिल्ला अदालतले प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको थियो। जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले फैसला गरेको थियो।
विकको कर्तव्य ज्यान मुद्दामा मुख्य आरोपी पवन कापर र प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका थिए। २०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।





