काठमाडौँ : नेकपा (एमाले) का नेता विष्णु रिजालले सातै प्रदेशमा पुनः सरकार परिवर्तनको क्रम सुरु भएको भन्दै वर्तमान संघीय व्यवस्थाको प्रदेश शासन मोडलमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत रिजालले २०७९ सालदेखि यताको साढे तीन वर्षको अवधिमा २८ जना मुख्यमन्त्री र २९१ जना मन्त्री बनिसकेको उल्लेख गरेका छन्। एउटै व्यक्ति पटक–पटक मन्त्री बनेको अवस्था समेत जोड्दा पनि प्रदेशमा सरकार गठन र पुनर्गठनको श्रृंखला नरोकिएको उनको भनाइ छ।
‘फेरि सातै प्रदेशमा सरकार परिवर्तनको मौसम सुरु भएको छ। ०७९ बाट यताको साढे तीन वर्षमा २८ जना मुख्यमन्त्री र २९१ जना मन्त्री (उही व्यक्ति पटक–पटक दोहोरिँदासमेत) भइसक्दा पनि मुख्यमन्त्री/मन्त्री बन्ने क्रम रोकिएको छैन,’ उनले लेखेका छन्।
यस्तै, रिजालले प्रदेश सभाको कार्यकाल सकिन अझै करिब १७ महिना बाँकी रहेकाले आगामी अवधिमा अझै कति सरकार फेरबदल र मन्त्री नियुक्ति हुने हो भन्ने प्रश्न उठाएका छन्। उनले वर्तमान संघीयताको अभ्यासलाई ‘विकृत मोडल’ को संज्ञा दिँदै यसको विकल्प खोज्न ढिला भइसकेको टिप्पणी गरे। प्रदेश संरचना कायम राख्ने हो भने मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था लागू गर्नुपर्ने उनको प्रस्ताव छ।
उनले भने, ‘प्रदेश सभाको बाँकी १७ महिने अवधिमा अझै कति देख्नुपर्ने हो। संघीयताको यस विकृत मोडलको विकल्प खोज्न ढिला भइसकेको छ।’
रिजालका अनुसार यस्तो व्यवस्था लागू भए प्रदेशहरू बारम्बार मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने केन्द्र बन्ने अवस्थाबाट जोगिन सक्ने र संघीयतामाथि लागिरहेको बदनामी कम गर्न सहयोग पुग्न सक्छ। ‘प्रदेश नै चाहिने हो भने मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रावधानमा जाँदा कम्तीमा संघीयता नै बद्नाम हुने गरी प्रदेशहरूलाई मुख्यमन्त्री/मन्त्री उत्पादनका कारखाना बन्नबाट बचाउन सकिन्छ होला,’ उनले सुझाव दिएका छन्।





