प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

२०८३ श्रावण २, शनिबार

दाङ : तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो । तुलसीपुर बजारबाट दक्षिणतर्फ नजिकैको दूरीमा रहेपनि उचित प्रचारप्रसार र प्रवर्द्धनको अभावले गर्दा यो स्थल ओझेलमा परेको स्थानीय बताउँछन् । करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यो तालको आफ्नै ऐतिहासिक विशेषता छ । पहिले यहाँ सातवटा छुट्टाछुट्टै तालहरू थिए, जसलाई अहिले मिलाएर एउटै विशाल तालको स्वरूप दिइएको छ ।

तालको बीच भागमा करिब रु एक करोडको लागतमा एउटा शिवमन्दिर निर्माण गरिएको छ । उक्त मन्दिरमा शिव, गणेश, सूर्य, देवी र विष्णु गरी पाँच वटा मूर्तिहरू स्थापना गरिएका छन् । आकर्षण तालको बीचमा रहेको मन्दिरसम्म पुग्नका लागि करिब ४५ मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथोकीले बताए । वर्षायामको पानी सङ्कलन हुने यस तालमा वर्षैभरि पानी रहिरहने र यहाँ व्यावसायिक रूपमा माछापालनसमेत गर्ने गरिएको उनको भनाइ छ ।

स्थानीय बुढाथोकीका अनुसार यो बाटो भएर हिँड्ने यात्रुले फाट्टफुट्ट तस्बिर खिच्ने गरे पनि तालकै अवलोकनका लागि आउनेको सङ्ख्या भने कम छ । सडक सञ्जालको सहज पहुँच र बजारबाट नजिकै रहेकाले यस ताललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको उनले बताए । दुर्गम क्षेत्रका साना पोखरीहरू समेत पर्यटकीय केन्द्र बनिरहेको अवस्थामा, बजार नजिकैको यति ठूलो ताल भने उपेक्षित हुनु दुःखद रहेको स्थानीय बताउँछन् ।

यो ताललाई व्यवस्थित गरी उचित प्रचारप्रसार गर्न सके दाङ जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय उत्तम चौधरीले बताए । उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउनेतर्फ पहल थालिएको तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले बताए । उनले यहाँ थप भौतिक पूर्वाधार निर्माण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध पहल थालिएको भन्दै सोही अनुरुप बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार