सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन : साह

२०८३ श्रावण २, शनिबार

काठमाडौँ : आम जनता पार्टी (आजपा) ले वर्तमान सरकार चौतर्फी असफल भएको निष्कर्ष निकालेको छ ।

राजनीतिक अस्थिरतालाई चिर्दै नेपाली जनताले रास्वपालाई झण्डै दुई तिहाइको जनमत दिँदा पनि सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन र उल्टै जनतामा चरम निराशा थुपार्ने काम गरेको आजपाको ठहर छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै आजपाले नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो निष्कर्ष साझा गरेको हो । आजपाको तर्फबाट प्रवक्ता सुभाषप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देशलाई विकास र निकास दिन असफल भएको निष्कर्ष सुनाएका हुन् ।

विकास बजेट जम्मा ४६प्रतिशत खर्च र राजस्व सङ्कलन जम्मा ८४ प्रतिशत, भएको, वैदेशिक अनुदान सहायता ५८प्रतिशत मात्र प्राप्त भएको तथा ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढी थपिएको अर्थात् वित्तीय कार्यसम्पादनको हिसाबले यो वर्ष इतिहासकै अहिलेसम्मको सबैभन्दा खराब वर्ष साबित भएको आजपाको दाबी छ ।

शक्तिशाली सरकार बन्दापनि बजार अनियन्त्रित बनेको र राज्यको लुटकारी चरित्र अझै उदाङ्गो बनेको, उपभोक्ता चरम मूल्यवृद्धिको मारमा परेको र भान्सा महँगो बन्दा जनजीवन नै कठिन बनेको आजपाको निष्कर्ष छ ।

विधि मासेर बलपूर्वक शासन गर्ने शैलीको कारण वर्तमान सरकार बदनाम बनेको पनि उसको ठहर छ । २०८१ सालको फागुनदेखि नै नेपाल ग्रे–लिस्टमा रहेकोमा अहिले उक्त लिस्टबाट हट्नुको साटो उल्टै ब्ल्याक लिस्टमा पर्ने जोखिम बढेको छ । नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनमा वर्तमान सरकार पूर्ण रूपमा असफल हुँदा नेपाल एफएटिएफको ब्ल्याकलिष्टमा पर्न लागेको आजपाको ठम्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार