दाङ : आर्थिक वर्ष २०८२/८३ मा दाङबाट ६५० बढी फरार अभियुक्त पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधिमा ६७९ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार विभिन्न प्रकृतिको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेका ६७९ जनालाई २४६ वर्ष तीन महिना २४ दिन कैद सजाय र रु एक करोड ३८ लाख ४२ हजार २९७ जरिवाना तोकिएको उहाँले जानकारी दिए ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार फरार अभियुक्तमध्ये १० वर्षपछि पक्राउ परेका ८८ जना छन् । त्यस्तै पाँच वर्षपछि पक्राउ पर्नेमा ७० र पाँच वर्षभन्दा कम समयमा पक्राउ पर्ने ५२१ जना रहेका उनले बताए ।
विगत एक वर्षमा जिल्लामा विभिन्न प्रकृतिका एक हजार १२८ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी आत्महत्यासम्बन्धी ३३५ र लागुऔषधसम्बन्धी १२६ मुद्दा रहेका उनले जानकारी दिए ।



