काठमाडौँ : हिमालयन अर्गनाइजेसनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित अटोमोबाइल कम्पनी डोङफेङ (DONGFENG) द्वारा उत्पादित विद्युतीय बसहरू नेपालमा सार्वजनिक गर्ने भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा आगामी भदौ २६ गतेदेखि आयोजना हुन लागेको नाइमा अटो एक्स्पोमा कम्पनीले दुईवटा मोडलका बसहरू सार्वजनिक गर्न लागेको हो। सन् १९६९ मा स्थापित चीन सरकारको स्वामित्वमा रहेको डोङफेङ मोटर कर्पोरेसन विश्वका १०० भन्दा बढी देशमा सवारी साधन निर्यात गर्ने अग्रणी कम्पनी हो।
नेपालमा डोङफेङका ट्रक, कार र माइक्रोबसहरू पहिल्यैदेखि लोकप्रिय रहँदै आएका छन्। विगतदेखि नै फोर्स मोटर्स र साइक (SAIC) ग्रुपको म्याक्ससका सवारी साधन बिक्री गर्दै आएको हिमालयन अर्गनाइजेसनले ठूला विद्युतीय बसप्रति सरकारी प्राथमिकता र ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न यो नयाँ ब्रान्ड भित्र्याएको जनाएको छ।
नाइमा अटो एक्स्पोमा ७.२ मिटर लम्बाइ र २६ देखि ३० सिट क्षमता भएका बसहरू सार्वजनिक गरिनेछ। कम्पनीले निकट भविष्यमा नै ९ मिटर (३८ सिट) र १२ मिटर (५२ सिट) क्षमताका बसहरू समेत नेपाल ल्याउने तयारी गरेको छ। एक्स्पोमै मूल्य र थप विवरण सार्वजनिक गरिने भए पनि यी बसहरू बजारमा उपलब्ध अन्य ब्रान्डका तुलनामा निकै प्रतिस्पर्धी र कम मूल्यमा उपलब्ध गराइने कम्पनीले दाबी गरेको छ।
साथै, एक्स्पोका क्रममा बस बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको योजना समेत प्रस्तुत गरिनेछ। बिक्रीपछिको सेवा तथा स्पेयर पार्टस् हिमालयन अर्गनाइजेसनअन्तर्गत नेपालभर रहेका शाखा तथा डिलर सञ्जालमार्फत सहज रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।



