काठमाडौं : लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक भएको छ ।
चलाउने र सरिता सुनारको स्वर रहेको गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा जलन विश्वकर्माको शब्द तथा भागिरथ चलाउनेकै संगीत रहेको छ। विनोद बाजुरालीले गीतमा संगीत संयोजन गरेका छन् ।
गीतको मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका छन् भने भोकल सम्पादन राजेन्द्र बाजुराली र रेकर्डिङ सागर बाजुरालीले गरेका छन् । गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो । गीतको भिडियोमा गायक भागिरथ चलाउनेसँगै करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन अजय रेग्मीको टिमले गरेको हो भने लक्ष्मण चौहानले सम्पादन गरेका छन् ।
भागिरथ चलाउनेले यसअघि पनि थुप्रै तीज गीत सार्वजनिक गरिसकेका छन्। उनका ‘झमझम झम्काना’, ‘थोपडाले धोका दियो बरिलै’, ‘मायाले त होला’ र ‘मेरा लागि मर्ने केटो मनै परेन’ लगायतका तीज गीतले श्रोता तथा दर्शकमाझ लोकप्रियता हासिल गरेका छन् ।
यस वर्ष सार्वजनिक गरिएको ‘को मुर्खले लान्छ र मलाई’ गीतले पनि श्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको गायक चलाउनेले बताए ।




