काठमाडौं : चलचित्र ‘मास्टर्नी’को गीत ‘गुराँस फुल्दा’ सार्वजनिक गरिएको छ। मेलिना राईको स्वरमा रहेको गीतमा वसन्त सापकोटाको रि–एरेन्ज र दयाराम दाहालको शब्द छ।
यसअघि चलचित्र ‘सुपरस्टार’मा समावेश यो गीतको ओरिजिनल भर्सनमा सचिन सिंहको संगीत र साधना सरगमको स्वर छ। गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउत फिचर छन्। गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा पवन सुश्लिङको छायांकन, सम्पादन र कलर रहेको छ।
आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र क्राइम थ्रिलर/फ्यामिली ड्रामा जनरामा बनेको छ। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापालगायतका कलाकारको अभिनय रहेको छ।
सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा तयार पारेका छन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार चलचित्रका कार्यकारी निर्माता हुन्।
चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ। युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन रहेको चलचित्र भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदैछ।
चलचित्रमा रोहित शाक्यको संगीत र त्रिशाला गुरुङको गायन रहेको छ। चलचित्रलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।




