प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८३ श्रावण २८, बिहीबार

काठमाडौँ : धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासहित नौ जनाविरुद्ध ३६ लाख दश हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सुनसरीको साविक सिंगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय, सुनसरीका तत्कालीन मालपोत अधिकृत सुरेश वैद्य, तत्कालीन शाखा अधिकृत तुङ्ग नाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदार बहादुर कार्की, तत्कालीन धरान नगरपालिका वडा नं १४ का तत्कालीन वडा सचिव उत्तम आले, नरसिंह भगवानको मन्दिरमा पुजारी रहेका टिरु चौधरी, स्थानीय जग्गा कारोबार गर्ने पंकज घिमिरे र भागमैन थरुनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार उनीहरुविरुद्ध सुनसरी, हाल रामधुनी नगरपालिका वडा नं २ भइ साविक भादगाउँ सिनवारी गाविस वडा नं. ४ मा रहेका सार्वजनिक जग्गाहरु व्यक्तिको नाममा कायम गरी गराइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरमा बिगो रकम ३६ लाख दश हजार रुपियाँ कायम गरी कैद र बिगो बमोजिमको जरिवाना हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार