काठमाडौं : रुस र युक्रेनबीच रातभर भएको आक्रमणमा दुवै देशमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको छ। रुसी क्षेत्रमा युक्रेनले गरेको आक्रमणमा सात जना र युक्रेनमा रुसले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको हो। दक्षिणी रुसको रोस्तोभ क्षेत्रका गभर्नर युरी स्ल्युसरका अनुसार रातभर भएका युक्रेनी आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। आक्रमणका कारण केही भवनमा क्षति पुगेको तथा जंगलका दुई क्षेत्रमा आगलागी भएको उनले बताए।
बेलगोरोद क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार राकित्यान्स्की जिल्लामा एउटा बसलाई निशाना बनाएर गरिएको आक्रमणमा एक महिलाको मृत्यु भएको छ। अर्की एक महिला टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी छन्। यसअघि मस्को क्षेत्रको रामेन्स्कीमा ड्रोन आक्रमणमा ८३ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो।
मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी राजधानीतर्फ आइरहेका ६०० भन्दा बढी युक्रेनी ड्रोनलाई रोकिएको दाबी गरेका छन्। युक्रेनमा रातभर भएका रुसी आक्रमणमा पनि पाँच जनाको मृत्यु भएको छ। क्रिभी रिहका मेयरका अनुसार ४४ वर्षीय एक बेपत्ता व्यक्तिको शव भग्नावशेषबाट फेला परेको छ। सोही क्षेत्रमा अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ।
आक्रमणमा एउटा स्टिल कारखानाका १४ जना कर्मचारी घाइते भएका छन्। रुसले उक्त स्थानमा हतियारका पार्टपुर्जा उत्पादन हुने दाबी गरेको छ। जापोरिज्जियामा एउटा घर ध्वस्त हुँदा ६० वर्ष उमेरका दुई जनाको मृत्यु भएको छ। आपत्कालीन सेवाका अनुसार रातभरको आक्रमणका कारण किभको एउटा बजारमा आगलागी भएको थियो। आगो नियन्त्रणमा लिइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभमा छ जना घाइते भएको बताएका छन्। उनका अनुसार रातिदेखि आइतबार बिहानसम्म शहरमा चार पटक हवाई आक्रमण गरिएको थियो। रुसले किभमा गरेको पछिल्लो आक्रमणमा फ्लेमिङ्गो क्षेप्यास्त्रका पार्टपुर्जा उत्पादन गर्ने फायरपोइन्टको केन्द्र र ड्रोनका पार्टपुर्जा बनाउने एउटा कारखानालाई निशाना बनाएको दाबी गरेको छ।
रुसी रक्षा मन्त्रालयले पोल्टाभा क्षेत्रमा रहेको क्रेमेन्चुक तेल प्रशोधन केन्द्रलाई पनि निशाना बनाएको जनाएको छ। उक्त केन्द्रले युक्रेनी सेनालाई इन्धन आपूर्ति गर्ने रुसको दाबी छ। त्यस्तै, रुसले ओडेसानजिकै एउटा सुख्खा मालवाहक जहाजलाई पनि निशाना बनाएको जनाएको छ। रुसी दाबीअनुसार उक्त जहाजमा सैन्य उपकरण ओसारपसार भइरहेको थियो।





