बस्ती पसेको बाघ नियन्त्रणमा

२०८३ श्रावण ३१, आईतवार

चितवन : राप्ती नगरपालिका-१ दुविचौर क्षेत्रमा देखिएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । शुक्रबार रातिदेखि बस्ती क्षेत्रमा देखिएको बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले प्राविधिक टोली परिचालन गरेकामा आज बिहान नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार प्राविधिक टोलीको तेस्रो पटकको प्रयासमा बाघलाई डार्ट (बेहोस पार्ने औषधि) दिएर सफल भइएको हो । “नियन्त्रणमा लिइएको बाघलाई सौराहा ल्याएर स्वास्थ्य परीक्षण गर्नेछौँ । स्वास्थ्य अवस्थाको जानकारी भएपछि कहाँ राख्ने भन्ने टुङ्गो लाग्नेछ”, उनले भने ।

थापामगरका अनुसार उक्त बाघले राप्ती नगरपालिका-१ डिपाट बस्तीमा आज बिहान एक जनालाई आक्रमण गरी घाइते बनाएको थियो । आज बिहान अन्दाजी ६ः४० बजे गाउँमा छिरेको बाघले स्थानीय ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको हो । आक्रमणबाट उनको तिघ्रामा सामान्य चोट लागेको जनाउँदै उनले घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको बताए ।

सोही क्रममा बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । निकुञ्जले केही दिनअघि मात्रै समस्याग्रस्त एउटा बाघलाई नियन्त्रणमा लिएको थियो । निकुञ्जको खोरमा योसँगै आठ वटा समस्याग्रस्त बाघ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार