झापा : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन् ।
एमाले झापाद्वारा आइतबार बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भका क्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गरे ।
‘हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौँ,’ उनले भने, ‘देश र जनताका लागि के दिए भन्ने कुरा हरदम सम्झिन जरुरी छ ।’
नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष र एमाले स्थापनाको ७७ वर्ष पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आन्दोलनलाई जोगाउन पार्टीलाई विभिन्न समयमा पुनःगठन गर्दै अघि बढाइएको स्मरण गराए । २०२९ देखि २०३२ सालसम्मको आफ्नो राजनीतिक उतारचढाव र जेल जीवनका अप्ठ्यारा दिनको चर्चा गर्दै उनले विश्वभर कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्दा सिद्धान्त तथा निष्ठाकै बलमा पार्टीलाई बलियो बनाइएको दाबी गरे ।
अध्यक्ष ओलीले पार्टीलाई सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिए । ‘पार्टीमा वास्तविक सदस्यको मात्र नवीकरण हुनुपर्छ, गैरसदस्यको नवीकरण बन्द गरिनुपर्छ,’ उनले भने । पदको पछाडि नदौडी देश र जनताका लागि त्याग तथा बलिदान गर्न तयार हुने भावना नै एमाले कार्यकर्ताको असली पहिचान भएको अध्यक्ष ओलीको भनाइ थियो ।





