राजसंस्था हिन्दु राष्ट्रको मूल आधार हो : रवीन्द्र मिश्र

२०८३ श्रावण ३१, आईतवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले राजसंस्था बिना स्थापना हुने ‘हिन्दु राष्ट्र’ नेपालको धर्म, संस्कृति, सभ्यता, सामाजिक सौहार्दता तथा दीर्घकालीन शान्ति र स्थिरताका लागि घातक हुन सक्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले ‘राजसंस्था’ हिन्दु राष्ट्रको मूल आधार भएको उल्लेख गरेका छन्। उनले राजसंस्था नभएको हिन्दु राष्ट्रले अन्ततः राजसंस्थाको मुद्दालाई नै ओझेलमा पार्ने दाबी गरेका छन्।

“राजसंस्था अर्थात् मियो बिनाको हिन्दु राष्ट्र हाम्रो धर्म, संस्कृति, सभ्यता, सामाजिक सौहार्दता, शान्ति र स्थिरता सबैका लागि घातक हुनेछ,” उनले लेखेका छन्। मिश्रले नेपालको दीर्घकालीन शान्ति र स्थिरता राजसंस्थासहितको व्यवस्थाबाट मात्र सम्भव हुने जिकिर गर्दै नेपालको अशान्ति र अस्थिरताले छिमेकी भारतलाई समेत असर पार्न सक्ने बताएका छन्।

उनले ‘हिन्दु राष्ट्र’ भन्दा ‘हिन्दु अधिराज्य’को अवधारणामा जोड दिनुपर्ने धारणा राखेका छन्। “हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ। हामीले हिन्दु गणतन्त्र चाहेका होइनौँ, राजसंस्थासहितको हिन्दु अधिराज्य चाहेका हौँ,” मिश्रले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार