गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

२०८३ श्रावण ३१, आईतवार

गुल्मी : प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ। प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत कारणले रेसुङ्गा विमानस्थलबाट हवाई सेवा नियमित हुन सकेको छैन।

रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानीसम्म जाने यात्रु थप समस्यामा परेका जानकारी दिए। उडानका लागि विमानस्थल पुग्ने गरेका यात्रुहरू विमानको प्रतिक्षामा बस्ने बताउँदै उनले अन्तिम समयमा वायु सेवा निगमले प्रतिकूल मौसमका कारण जनाउँदै उडान तालिका रद्द गरेपछि निराश हुँदै फर्कनुपर्ने बाध्यता रहेको उल्लेख गरे।

नेपाल वायु सेवा निगमले सातामा शनिबार, आइतबार र बिहीबार गरी तीन दिन हवाई उडानको तालिका निर्धारण गरेको छ। रेसुङ्गा विमानस्थलबाट जेठको तेस्रो सातादेखि हवाई उडान अवरुद्ध हुँदै आएको स्टेसन प्रमुख थापाले जानकारी दिए। उहाँका अनुसार खराब मौसमका कारण टिकट लिएका यात्रुहरू विमानस्थल आएर फर्कनुपर्ने बाध्यता छ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे उडान भर्दै आइरहेको छ। निगमले काठमाडौंबाट गुल्मीका लागि रु १० हजार ७१० र गुल्मीबाट काठमाडौंका लागि रु १० हजार ५१० भाडादर निर्धारण गरेको छ।

रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गरेको स्टेसन प्रमुख थापाले जानकारी दिए।

जिल्लामा हवाई उडान सुरु भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुँदै गएको स्थानीय बताउँछन्। सडक मार्गबाट १२ देखि १६ घण्टासम्मको यात्रा गरेर राजधानी पुग्नुपर्ने यस क्षेत्रका नागरिक आकाश मार्गबाट ४५ देखि ५० मिनेटमा सजिलैसँग राजधानी आवतजावत गर्न सक्नेछन्।

गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई सेवा प्रदान गर्दै आइरहेको छ। पछिल्लो समयमा इन्धनमा भएको मूल्य वृद्धि, सडकको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधनको सहज उपलब्धताका कारण रेसुङ्गा विमानस्थलमा हवाई उडान गर्ने यात्रुको सङ्ख्या केही कमी आएको विमानस्थल कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार