पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता

२०८३ भाद्र ४, बिहीबार

हुम्ला : पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा आज दुईजना बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए ।

उनका अनुसार खार्पुनाथ-१ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी अन्दाजी ११ वर्षीया छोरी अनु शाही कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका भन्ने खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने भन्दै निरन्तर खोजी भइरहेको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ११ बजेतिर खाना खाइसकेपछि नदी किनारमा नुहाउन गएका खार्पुनाथ-१ तल्लो लालीका दुई बालबालिकालाई अचानक कर्णाली नदीमा आएको बहावले बगाएको थियो । बेपत्ता भएका दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए ।

नदी किनारमा पौडी खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको हुनसक्ने खार्पुनाथ-१ का वडाध्यक्ष जयबहादुर शाहीले बताए । उनका अनुसार घटना भएको खबर पाएलगत्तै स्थानीयवासी, प्रहरीप्रशासनलगायत सुरक्षाकर्मीले कर्णाली नदीको किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान थालेका छन् ।

नदीमा पानीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । उनका अनुसार दुवै जनाको खोजीलाई तीव्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार