नाडाको ५० बर्षे यात्रा : गर्विलो इतिहास, १८ औं अटो शोको तयारी पुरा

२०८३ भाद्र ५, शुक्रबार

काठमाडौँ : नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ ।

स्वर्ण जयन्ती माउने क्रममा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मुल नाराका साथ ‘नाडा अटो शो’को १८ औ संस्करण आगामी मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

नाडाको जन्म कसरी भयो ?

नेपालमा विस्तारै सवारीसाधनको आयात बढेसँगै व्यवसायीहरुले आफ्नो हक र हितको लागि काम गर्ने एक मंचको आवश्यकता महसुस गरे र व्यवसायी तोलाराम दुगडको अध्यक्षतामा २०३२ सालमा अटोमोबाइल एशोसिएस अफ नेपालको स्थापना भयो ।

विस्तारै संस्थाको कार्यक्षेत्र र दायरा फराकिलो बनाउन २०६१/६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल्स डिलर एशोसिएसन (नाडा) भयो । त्यस्तै २०७२ सालमा संस्थाले आफ्नो नाम पुनः परिवर्तन गरी नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल राखेको हो ।

बजार व्यवस्थित गर्ने, सरकारसँग नीतिगत पैरवी गर्ने र समग्र नेपाली अर्थतन्त्र र रोजगारको सिर्जना गर्ने तथा व्यवसायीहरुको एक आपसरमा नेटवर्क बृद्धि गरी उपभोक्तासम्म सहज पहुच पुर्याउने उद्देश्यका साथ नाडाको स्थापना भएको थियो ।

संस्थाको विकाससँगै नाडाको उद्देश्य र कामको दायराहरु पनि फराकिलो बन्दै गयो । नाडाले अटोमोबाइल व्यवसायीहरूको साझा आवाजलाई संस्थागत गर्दै सरकार र निजी क्षेत्रबीच संवादको महत्वपूर्ण पुलको भूमिका निर्वाह गर्दै आएको छ । नाडासँग देशभरका अटोमोबाइल व्यवसायी, आयातकर्ता, वितरक, उत्पादक तथा डिलरहरू जोडिएका छन् ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नाडाको ५० वर्षको सबैभन्दा ठूलो उपलब्धि गाडी बेच्ने व्यवसायीहरूको संगठनलाई नेपालकै अटोमोबाइल उद्योगको प्रतिनिधित्व गर्ने, सरकारसँग नीति संवाद गर्ने, बजार र प्रविधि प्रदर्शन गर्ने, सीप विकास गर्ने तथा अन्तर्राष्ट्रिय उद्योगसँग जोड्ने संस्थागत प्लेटफर्ममा रूपान्तरण गर्न सक्नु रहेको बताउँछन् ।

उनका अनुसार नाडाले पचास बर्षे यात्रामा नीति पैरवी, उद्योगको प्रतिनिधित्व, अटो शो, सूचना अभिलेख, सीप विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र इभी र हरित मोबिलिटी जस्ता क्षेत्रमा कामहरु गरेको छ । उनले अब नेपाल केवल ‘गाडी आयात गर्ने देश’ होइन, ‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देश’ बन्ने दिशामा सोच्नुपर्ने बताए ।

यसरी सुरुवात भएको थियो ‘नाडा अटो शो’

नाडाले नेपालमा अटोमोबाइल व्यवसाय विस्तार हुन थालेसँगै व्यवसायीहरूलाई आफ्नो उत्पादन तथा ब्रान्ड प्रदर्शन गर्ने र उपभोक्तालाई नयाँ सवारीसाधनबारे जानकारी दिने एउटा व्यवस्थित मञ्चको आवश्यकता महसुस भएकोले आवश्यकता पूरा गर्न विक्रम सम्बत् २०५५ मा ‘पहिलो अटो शो’ को आयोजना गरेको थियो । सो मेलामा जम्मा २६ वटा स्टलहरु रहेका थिए ।

प्रत्येक २ बर्षमा हुने ‘नाडा अटो शो ’मा ग्राहकको आकर्षण बढेसँगै सन् २०१० (अर्थात् विक्रम सम्बत्) २०६७ देखि प्रत्येक बर्ष नेपालीहरुको ठूला चाडपर्वलाई लक्षित गरी प्रत्येक बर्ष आयोजना गर्न थालियो । यसपटक प्रत्येक बर्ष हुने नाडा अटो शोको १८ औ संस्करण भदौ ९ गतेबाट सुरु हुँदैछ ।

‘नाडा अटो शो’ व्यवसायिक मन्चमा परिणत हुदै गएको अध्यक्ष उप्रेतीले दावी गरे । उनले भने ‘नाडा अटो शो’ नयाँ गाडी सार्वजनिक गर्ने, ब्रान्ड प्रवद्र्धन गर्ने, ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्ने, बैंक तथा वित्तीय संस्थालाई अटो लोन प्रवद्र्धन गर्ने र अटोमोबाइल क्षेत्रका नयाँ प्रविधि देखाउने प्रमुख मञ्च बन्दै गएको छ ।’

अहिले नाडाले नेपाली बजारमा छुट्टै संस्थागत पहिचान बनाएको छ । सरकारसँग नीतिगत बहस र पैरवीहरु गरिरहेको छ । संस्थामा ३ हजार २ सयभन्दा बढी सदस्यहरु रहेका छन् । नाडाले आफ्नो गौरवपुर्ण यात्रामा सडक सुरक्षा र दुर्घटना न्युनिकरणमा पनि चेतनामुलक कामहरु गर्दै आएको छ ।

भदौ ९ देखि भृकुटी मण्डपमा हुदै छ ‘नाडा अटो शो ’को १८ औ संस्करण

अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले भदौ ९ गतेदेखि १८ औ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्न लागेको छ । साथै स्थापनाको ५० औं वर्ष (स्वर्ण जयन्ती) पनि मनाउदै छ ।

नेपालको अटोमोबाइल क्षेत्रमा भइरहेको द्रुत परिवर्तन, विशेषगरी ईभीको आधुनिक प्रविधि र दिगो गतिशीलतालाई एउटै छानामुनि प्रदर्शन गर्ने यो एउटा भव्य मञ्च हुनेछ । ५ दशक लामो नाडाको यात्रा नेपालको समग्र आर्थिक र औद्योगिक विकाससँग जोडिएको हामीले देखेकै छौं । साथै, यस वर्षको संस्करण अटोमोबाइल क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ।

यस वर्षको प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी) लाई विशेष प्राथमिकता दिइएको छ । दुई पाङ्ग्रे, चार पाङ्ग्रे, कमर्शियलदेखि कम्पोनेन्टसम्मको विकास क्रम मेलामा प्रदर्शनी हुनेछ ।

नेपालमै उत्पादित सवारीसाधनलाई प्राथमिकतामा

यस पटकको प्रदर्शनीमा नेपालमै उत्पादित यात्री इलेक्ट्रीक साथै स्वदेशमै एसेम्बल गरिएका स्कुटर, बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पाट्र्सहरूलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्न लागिएको छ ।

नेपाल अब गाडी आयात गर्ने मात्र होइन, भोलिका दिनमा उत्पादनमा पनि आत्मनिर्भर बन्न सक्छ भन्ने स्पष्ट सन्देश अवलोकनकर्तालाई अटो शोमा दिन खोजिएको छ । स्वदेशी उद्योगतर्फको यात्रालाई संस्थाले गर्वका साथ प्रदर्शनीमा राख्न लागेको छ ।

यस अटो शोले देशको अर्थतन्त्रलाई गति दिन र अटोमोबाइल क्षेत्रको भविष्यको दिशा तय गर्न सहयोग पुर्याउने नाडाले अपेक्षा गरेको छ ।

नेपाली अटोमोबाइल बजारमा ‘नाडा अटो शो’ एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ । यही कारण ‘१८ औँ नाडा अटो शो २०२६’ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको हो ।

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ ।

त्यस्तै रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ । अध्यक्ष उप्रेतीले ५०औँ वर्षको अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने प्रयास गर्ने दावी गरे ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क तथा अन्य स्थानमा पार्किङको व्यवस्था गरिनेछ । बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ।

प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क पनि रहनेछन्। आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोमा त्यसैले नयाँ गाडी मात्रै देखिने छैनन्। नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी यात्राको एउटा चित्र पनि देखिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार