काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
रास्वपाको पार्टी सचिवालयको बुधबार बसेको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । पार्टीले उक्त सहयोग सरकारको एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने जनाएको छ । बैठकले प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धारसँगै सुरक्षित बासस्थान, शुद्ध पिउने पानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
रास्वपाले आफ्ना केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएको छ ।






