मालवाहक जहाज डुब्दा चालक दलका २२ जना बेपत्ता

२०८३ भाद्र १०, बुधबार

काठमाडौँ : बङ्गालको खाडीमा पनामाको झण्डा बोकेको मालवाहक जहाज डुब्दा बेपत्ता भएका २२ जना चालक दलका सदस्यको खोजीमा भारतसँगै चीन पनि सहभागी भएको छ ।

भारतीय तटरक्षकका अनुसार चीनको समुद्री उद्धार समन्वय केन्द्रसँग सहकार्य गरी खोजी तथा उद्धार अभियान तीव्र पारिएको छ । एमभी ओसन विनर गत शनिबार ओडिसाको पारादीप बन्दरगाहबाट सिङ्गापुरतर्फ जाने क्रममा भारतको विशाखापट्टनमबाट करिब ७०० किलोमिटर पूर्वमा सङ्कटको सूचना पठाएर डुबेको थियो । जहाजमा २० चिनियाँसहित २४ जना चालक दलका सदस्य थिए ।

म्यान्माका तीन र बङ्गलादेशका एक जना पनि चालक दलमा थिए । हालसम्म दुई जनाको उद्धार भए पनि २२ जना बेपत्ता छन् । भारतीय तटरक्षकका प्रवक्ता कमान्डेन्ट अमित उनियालले जहाजसँग सम्बन्धित आपतकालीन बत्ती र एउटा लाइफबोट फेला परेको तर त्यसमा कोही नभेटिएको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुई चिनियाँ जहाज पनि खोजीमा सहभागी भएका छन् । जहाज डुब्नुको कारण भने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार