काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी युवाका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत गत वर्षको घटनालाई सम्झिँदै उनले यस्तो बताएका हुन्।
जेनजी आन्दोलनका क्रममा युवाले उठाएका भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाह सहज बनाउनुपर्ने र सामाजिक सञ्जालको निर्वाध प्रयोग गर्न पाउनुपर्ने माग जायज रहेको पोखरेलले बताएका छन्। यी माग सबैको साझा सरोकारका विषय भएको उनको भनाइ छ।
महासचिव पोखरेलका अनुसार सरकारले त्यतिबेला सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको, बरु नेपालमा दर्ता हुने व्यवस्था गर्दै नियमनलाई सहज बनाउन खोजेको जिकिर गरेका छन्। तर सरकारले यस विषयमा स्पष्ट पार्न नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आएको उनको भनाइ छ।
शान्तिपूर्ण प्रदर्शनलाई सुरुदेखि नै नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको कुरा स्पष्ट भइसकेको पोखरेलले दाबी गरेका छन्। उनले प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। वर्तमान सरकार जेनजी आन्दोलनको भावनाअनुसार नभई त्यसलाई हाइज्याक गर्नेहरूको योजना र प्रभावमा चलेको पोखरेलको आरोप छ।
साथै, नेकपा एमाले युवाको भावनाको सम्मान गर्दै जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको पोखरेलले बताएका छन्। उनले हिजो पनि एमाले युवाको पक्षमा रहेको, आज पनि रहेको र भोलि पनि रहने बताएका छन्। विगतमा युवाको भावना र माग सम्बोधनमा कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।











