काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिबद्धताबाट पछि हट्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।
शनिबार नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले निर्वाचनबाट झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकलाई आश्वस्त पार्न नसकेको बताएका हुन् ।
सरकार गठन भएको छ महिनामै सुशासन र सार्वजनिक सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धताबाट पछि हट्न थालेको उनको आरोप छ । चुनावका बेला भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र सार्वजनिक सेवा प्रवाहलाई तीव्र बनाउने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको विपरीत काम भइरहेको उनले दाबी गरे ।
पोखरेलले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्ने घोषणा गरेको सरकारले यसअघि नै विद्युतीय माध्यमबाट सञ्चालनमा रहेका कतिपय सेवाहरूलाई पुनः कागजी प्रक्रियामा फर्काउन थालेको आरोप लगाए । विशेषगरी विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीलाई कागजी प्रक्रियामा लैजाने तयारीले सुशासनमाथि प्रश्न उठाएको उनको भनाइ छ ।
ई–बिडिङ प्रणालीले ठेक्कापट्टामा हुने अनियमितता र शक्तिको दुरुपयोग नियन्त्रण गर्न सहयोग पुर्याएको उल्लेख गर्दै उनले उक्त प्रणालीमा समस्या देखिए त्यसको समाधान खोज्नुपर्ने बताए । प्रणालीमा समस्या देखिएको बहानामा पुरानै प्रक्रियामा फर्कनु उचित नहुने उनको तर्क छ ।











