आज मोबाइलमा आपतकालीन सन्देश बज्ने, नआत्तिन सरकारको आग्रह

२०८३ मंसिर ७, सोमबार

काठमाडौं : सरकारले आज (सोमबार) काठमाडौं उपत्यकाका मोबाइल प्रयोगकर्तामाझ ‘सेल ब्रोडकास्ट प्रणाली’ परीक्षण गर्ने भएको छ।परीक्षणका क्रममा केही मोबाइल फोनमा आवाजसहित आपतकालीन सतर्कता सन्देश आउन सक्ने भएकाले नआत्तिन सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले आग्रह गरेका छन्।

दुवै मन्त्रालयले संयुक्त सूचना जारी गर्दै नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिको परीक्षण भइरहेको र मोबाइलमा सन्देश प्राप्त भएमा कुनै कदम चाल्न आवश्यक नरहेको स्पष्ट पारेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट प्रणाली परीक्षण भइरहेको छ। परीक्षणका क्रममा सीमित मोबाइल प्रयोगकर्ताले मात्रै सन्देश प्राप्त गर्न सक्ने उनले बताएका छन्।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नेपाल टेलिकम र एनसेलले प्रभावित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्तालाई बाढीसम्बन्धी सतर्कता सन्देश पठाएका थिए। तर कतिपयले समयमै सन्देश नदेखेको र पुरानो प्रणाली प्रभावकारी नभएको भन्दै प्रश्न उठेपछि सरकारले यसको विकल्पका रूपमा सेल ब्रोडकास्ट प्रणाली परीक्षण गर्न लागेको हो।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) का अनुसार सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक सतर्कता सन्देश पठाउन सकिन्छ।

यस प्रणालीबाट भूकम्प, बाढी, पहिरो तथा प्रतिकूल मौसमका बेला जोखिम क्षेत्रमा रहेका नागरिकलाई तत्काल सूचना दिन सकिन्छ। मोबाइलको स्क्रिनमा सतर्कता सन्देश देखिनुका साथै आवाज र भाइब्रेसनसमेत आउने व्यवस्था हुन्छ। यस प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार