प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

२०८० फाल्गुन ७, सोमबार

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौँ मिनेटमा एलेजेन्ड्रो ग्रान्चोको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । तर, खेलको १४ औँ मिनेटमा कार्लटन मोरिसले लुटन टाउनका लागि गोल फर्काउँदै अन्तरकम गरेका थिए ।

पहिलो हाफको १५ मिनेट भित्र कुल ३ गोल निस्किए पनि बाँकी समयमा थप गोल नहुँदा अन्ततः युनाइटेड २–१ को जितका साथ तालिकामा ३ अङ्क थप्न सफल भयो । जितसहित युनाइटेड ४४ अङ्क बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ भने पराजित भएको लुटन २० अङ्कका साथ १७ औँ स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडमाथि ५–० को एकतर्फी जित दर्ता गरेको छ । पाँच मध्य एक गोल भने उपहार पाएको थियो ।  १३ औँ मिनेटमा सेफिल्डका मेसन होलगेट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो । यसैगरी, फाकुन्डो बुओनानोटले २० औँ मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । डेनी वेलब्याकले २४ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेको ब्राइटनले ७५ औँ मिनेटमा एक गोल उपहार पायो । सेफिल्डका ज्याक रोविनसनले आफ्नै पोस्टमा गोल गरेपछि ब्राइटनले अग्रता तेब्बर बनायो । त्यस्तै, ७८ औँ मिनेटमा सिमनो एडिंग्राले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे । उनैले व्यक्तिगत दोस्रो गोल ८५ औँ मिनेटमा गर्दा ब्राइटनले सेफिल्डमाथि ५–० को सहज र फराकिलो जित निकाल्न सफल भयो ।

जितपछि ब्राइटन ३८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । पराजित भएको सेफिल्डभने सबैभन्दा पुच्छरमा १३ अङ्कका साथ रहेको छ ।प्रिमियर लिगको २५ औँ चरणको खेल जारी रहँदा लिभरपुल ५७ अङ्कका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थनमा रहेको आर्सनलको ५५ तथा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार