जुम्लाका ९० हजार जना स्वास्थ्य बीमामा आबद्ध भए

२०८० चैत्र २६, सोमबार

काठमाडौं : पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार ४११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

हालसम्म पैँतालिस हजार ७२४ महिला र ४४ हजार ६८७ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । उनले भने, “जिल्लाका ११ हजार ६४८ घर परिवार बीमामा आबद्ध छन् ।” विं.सं. २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको उनको भनाइ छ ।

स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्ण रुपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन् । अहिले बीमा सहजकर्ता घर घरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताए ।

जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्‍याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी संक्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ ।

अन्यको हकमा शुल्क लिएर एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । सरकारले ०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार