अर्बौं डलर घोटाला गरेको आरोपमा भियतनामी अर्बपति लानलाई मृत्युदण्ड

२०८० चैत्र २९, बिहीबार

एजेन्सी : भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ। बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ।

उनी घर-जग्गाको कारोबार गर्ने संस्था भान थिन्ह फाटकी अध्यक्ष समेत हुन्। उनीमाथि घुसखोरी, बैंकका नीति नियमको उल्लंघन र रकम हिनामिना गरेको आरोप छ। उनले ११ वर्षको अवधिमा भियतनामको ठूलो बैंक साइगोन कमर्सियल बैंकबाट २७ अर्ब घोटाला गरेको बिबिसीको समाचारमा उल्लेख छ। लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर २७ अर्ब फिर्ता गर्न कठिन हुने अभियोजनकर्ताहरूले बताएका छन्।

देशमा अहिलेसम्मकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन्। अभियोजनकर्ताहरूले लानसँग सम्बन्धित एक हजार सम्पत्ति जफत गरेको छ। बिबिसीका अनुसार यसमा २७ सय जना मानिसहरूको बयान लिइएको थियो। १० जना अभियोजनकर्ता र करिब २०० जना वकिलहरू यस मुद्दामा संलग्न छन्। लानविरूद्ध बरामद भएका प्रमाण १०४ वटा बाकसमा थिए। जसको तौल ६ टन रहेको समाचारमा उल्लेख छ।

हो चि मिन सहरकी लानले आमासँग आफ्नो व्यापारिक यात्रा कस्मेटिक्स सामग्री बेचेर सुरू गरेकी थिइन्। सन् १९८६ देखि उनले घर जग्गा जोड्न थालिसकेकी थिइन्। सन् १९९० सम्म आइपुग्दा उनले थुप्रै होटल तथा रेष्टुरेन्टहरू खडा गरिसकेकी थिइन्। सन् २०११ सम्म लान एक परिचित व्यापारीको रूपमा उदाइसकेकी थिइन्। उनले त्यतिबेला तीन वटा साना बैंकलाई मर्ज गरी साइगोन कमर्सियल बैंक खडा गरिन्।

भियतनामी कानुनअनुसार कुनै पनि व्यक्तिले बैंकको ५ प्रतिशत शेयर भन्दा बढी राख्न पाइँदैन। तर उनले सयौं नक्कली कम्पनी र मानिसहरू खडा गरी बैंकको ९० प्रतिशत बढी शेयर आफ्नो नाममा गरेको अभियोजनकर्ताहरूले बताएका छन्। उनले त्यही शक्तिको प्रयोग गरी आफ्नै मान्छेलाई व्यवस्थापक बनाएको र उनकै आदेशमा आफ्ना कम्पनीहरूका नाममा ऋण प्रवाह गरेको पाइएको हो। सन् २०१९ फेब्रुअरीदेखि आफ्ना सवारी चालकलाई १०८ ट्रिलियन भियतनामी डोङ (४ अर्ब अमेरिकी डलर) नगद निकाल्न लगाएको र आफ्नो बेसमेन्टमा लुकाएको अभियोजनकर्ताले आरोप लगाएका छन्।

छानबिन नगरियोस् भनेर उनले विभिन्न व्यक्तिहरूलाई घुस समेत दिएकी हुन्। उनले केन्द्रीय बैंकका चिफ इन्स्पेक्टरलाई ५० लाख अमेरिकी डलर दिएको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार