भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश कक्षा ४ पुगे

२०८१ बैशाख १२, बुधबार

भक्तपुर : २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल अहिले कक्षा ४ मा पुगेका छन्। उनी भक्तपुर नगरपालिका– २, मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलबाट कक्षा ३ उत्तीर्ण गरी ४ मा पुगेका हुन्।

भूकम्पले घर भत्काएपछि भित्रै पुरिएका त्यो बेलाका पाँच महिने बालक सोनिशलाई २२ घण्टापछि नेपाली सैनिकले उद्धार गरेका थिए। त्यसपछि चर्चामा आएका सोनिश अहिले पनि ‘सेलिब्रेटी’ कै रूपमा छन्।

मंगलबार भक्तपुर नगरपालिका वडा–१० कमलविनायकस्थित सोनिशको घर पुग्दा उनी एक्लै थिए। उनको घरको घण्टी बजाउँदै गर्दा उनले नै हतपत आएर मूलढोका खोले। बुबाआमा दुवै काममा र एक दिदी स्कुल गएकाले आफू एक्लै घरमा भएको उनले बताए। टेलिफोन सम्पर्कका सोनिशकी आमा रश्मिलाले घर चलाउन आफू पनि काममा जाने गरेको सुनाइन्। सोनिशका बुबा चालक (ढुवानी सामान बोक्ने) हुन्। उनले घरघरमा गएर सफा गर्नेलगायत मजदुरीको काम गर्न आफू बिहानै निस्किने गरेको बताइन्।

भूकम्पले घर भत्काएपछिपछि लामो समय कोठाभाडामा लिएर बसेको अवाल परिवारले अहिले पुरानै जगमा अस्थायी संरचना बनाएको छ। आफ्नो भएको जग्गा बाटोको मापदण्डमा परेको र अन्यत्र घर बनाउने जग्गा नभएकाले पुरानै ठाउँमा नक्सा पासबिनै अस्थायी टहरो बनाएर कोठाभाडा तिर्नुपर्ने बाध्यताबाट मुक्त भएको रश्मिलाले बताइन्। ‘मापदण्ड छाडेर घर बनाउने हो भने तीन फिट जग्गा मात्र बाँकी रहन्छ,’ रश्मिलाले दुःखेसो पोखिन्, ‘त्यही कारण नक्सा पास गरेर पक्की घर बनाउन पाइएन।’

२०७१ मंसिर २९ गते जन्मेका सोनिश सुरुमा भक्तपुर नगरपालिका– २, व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स) मा नर्सरी कक्षामा भर्ना भएका थिए। त्यतिबेला अभिभावकले सोनिशलाई मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलमा भर्ना गर्न चाहे पनि आर्थिक अभावका कारण सामान्य स्कुलमा भर्ना गरेको समाचार छापिएको थियो। समाचार छापिएपछि एभरेस्ट स्कुलले निःशुल्क रूपमा सोनिशलाई भर्ना लिएको थियो। त्यहीबेलादेखि सोनिशले निःशुल्क रूपमा उक्त स्कुलमा पढ्दै आएका छन्।

एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सोनिशलाई कक्षा ५ सम्म निःशुल्क पढाइदिने प्रतिबद्धता दोहोर्‍याए। कक्षा ६ देखि वीरेन्द्र सैनिक आवासीय मावि, सल्लाघारीमा सेनाले निःशुल्क पढाइदिने प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसकेकाले कक्षा ५ सम्म एभरेस्टले निःशुल्क पढाइदिने राजभण्डारीले बताए।

‘हामीले सोनिश अवाललाई पहिलोपटक नर्सरीमा भर्ना लिएर निःशुल्क पढाउन थालेका थियौं, उनले भने, ‘पाँच कक्षासम्म निःशुल्क अध्ययन गराउने प्रतिबद्धता हामी दोहोर्‍याउन चाहन्छौं।’ उनले सुरुमै नर्सरी, जुनियर केजी, सिनियर केजी, एकदेखि पाँच कक्षसम्म निःशुल्क पढाइदिने प्रतिबद्धता राजभण्डारीले गरेका थिए।नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार