अब फार्मेसीमै औषधीको परीक्षण गरिने

२०८१ बैशाख १३, बिहीबार

काठमाडौँ : औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।

औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो । त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने, “बिक्री भइरहेका औषधी सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ । नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने छ ।”

यो नयाँ विधि होइन । भारत, बङ्गलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ । मङ्गलबार वीर अस्पतालको फार्मेसीमा यसको परीक्षण गरिएको छ । उनका अनुसार परीक्षण गर्दा औषधीमा कुनै कैफियत फेला परेन । “औषधीको मात्रा ठिक छ छैन, गलत औषधी दिइएको छ कि लगायत पनि परीक्षणका क्रममा अनुगमन गरिने छ,” उनले भने, “अहिलेलाई काठमाडौँबाट यसको सुरुवात गरिए पनि क्रमशः देशव्यापी बनाइने छ ।”

नेपालमा नक्कली औषधीको बिगबिगी रहेको अनुमान विभागको छ । औषधीले बिरामी ठिक हुनुको साटो झन् नकारात्मक प्रभाव पार्ने, औषधीको मात्रा घटबढ हुने गरी बिक्रीवितरण गर्ने गरेको पाइएको छ । “यस्ता गतिविधि गर्नेलाई तत्काल स्क्रिनिङ गरिने छ,” विभागका महानिर्देशक ढकालले भने, “यसले आमउपभोक्तालाई राहत हुने छ ।”

कतिपय उत्पादन मापदण्डविपरीत हुने गरेको छ । उनले त्यसको लागि विभागको मिनी ल्याब प्रविधिले फाइदा हुने बताए । औषधी पसलमा परीक्षण गर्द त्रुटि देखिएमा विभागले प्रयोगशालामा ल्याएर पनि परीक्षण गर्न सक्ने छ । मिनी ल्याबका लागि छुट्टै मेसिन हुन्छ । केही स्टलमेन्ट राखिएका हुन्छन् । विभिन्न खालका औषधीसम्बन्धी साधन र किट पनि सँगै हुने गर्छ । यस्तो मिनी ल्याबमा परीक्षण गर्न आवश्यक केमिकल पनि हुन्छ । विभागका महानिर्देशक ढकालले विशेष गरी सीमावर्ती क्षेत्रमा नक्कली औषधीको बिगबिगी हुनाले यसको प्रयोगबाट त्यहाँ भइरहेका बदमासी रोकिने बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले विभागले ल्याएको यो विधिले औषधीमा हुँदै आएको बेथितिको अन्त्य हुने बताए। उनले औषधीको गुणस्तरमा समेत फाइदा हुने बताए । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले फार्मेसीको बदमासी रोक्न मिनी ल्याबले सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार