काठमाडौँ : नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको छ ।
त्यसैगरी आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषको कार्यक्रमहरूको थप प्रवर्द्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए ।
कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिए । संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उनले बताए । प्राडा थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राखे ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रुपमा जानकारी गराए । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृत्रिम बौद्धिकता -ए.आई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उहाँले बताए ।
हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए। साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।





