काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन् ।
सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री गरेकोमा अन्तिम दिन अर्थात सोमवारसम्म १ करोड ५७ लाख कित्ता शेयरका लागि आवेदन प्राप्त भएको उक्त कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ ।
लाइफ इन्स्योरेन्स कम्पनीहरूमा आईएमई लाइफले नेपालमै पहिलोपटक प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो । कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्कासन गरेको थियो । जसमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो ।कम्पनीले जारी गरेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई वितरण गरिसकिएको छ ।
यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात् ६ लाख कित्ता संस्थाका कर्मचारीहरूलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।





