काठमाण्डौ : सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनको लागि हुवावेले आवेदन माग गरेको छ । हुवावेले आफ्नो ‘सिड्स फर द फ्युचर नेपाल २०२४’ का लागि आवेदन दर्ता खुला गरेको हो । स्नातक तहका विद्यार्थीले वेबसाइटमार्फत् आवेदन दर्ता गर्न सक्छन् । www.seedsnep.com मा गएर जुन ९ तारिखसम्म आवेदन दिन सकिने हुवावे नेपालले जनाएको छ ।
सन् २०२४ मा हुने सिड्स फर द फ्युचर नेपाल कार्यक्रमको काठमाण्डौमा उद्घाटन कार्यक्रम गरेर घोषणा गरिएको हो । हुवावेले अहिले लगातार चौथो वर्ष सीड्स फर द फ्युचर नेपाल छात्रवृत्ति कार्यक्रम गरेको हो । कार्यक्रमको माध्यमबाट, हुवावेले डिजिटलाइजेशन, नवीनता, उद्यमशीलता र दिगोपनमा गहन आईसीटी सत्रहरू सुविधा प्रदान गरेर नेपालमा आईसीटी इकोसिस्टमलाई बढावा दिएको दाबी गरेको छ ।
उद्घाटन कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, काठमाण्डौ विश्वविद्यालयका कुलपति भोला थापा, हुवावे नेपालका सीईओ हुआंग जुन, इन्टरप्राइज बिजनेसका सीटीओ एन्ड्रयू पेङलगायत उपस्थित थिए । यस्तै विभिन्न विश्वविद्यालयका डीन र प्राध्यापकहरू, विभिन्न सङ्गठनका अध्यक्ष र सीईओहरूको पनि सहभागिता थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले हुवावेको उपस्थितिबाट युवा दिमागलाई आईसीटी क्षेत्रमा अगाडि बढ्न अवसर प्रदान गरेको बताए ।
नेपालका लागि चीनका राजदूत चेन सङले भविष्यका लागि बीउ कार्यक्रम नेपालमा युवा प्रतिभाको पोषण र नवीनतालाई बढावा दिनको लागि एक महत्त्वपूर्ण कार्यक्रम रहेको बताए । यसवर्ष हुवावेले सरकार, शैक्षिक संस्था र उद्योग विशेषज्ञहरू सम्मिलित एक विविध जूरी बोर्ड गठन गरेको छ । यो दुई महिनाको अवधिमा छात्रवृत्तिको लागि अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन् । विश्वव्यापी ब्रान्ड भए पनि हुवावेले २५ वर्षभन्दा बढी समयदेखि नेपालमा काम गर्दै आएको छ । हुवावेले नेपाली प्रतिभालाई प्रविधि क्षेत्रमा पोषण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यस कार्यक्रमको माध्यमबाट हुवावेले नेपालमा विश्वव्यापी सूचना तथा सञ्चार प्रविधिको ज्ञान विस्तार गर्दै आएको दाबी गरेको छ ।
सन् २००८ मा स्थापना भएको सिड्स फर फ्युचर कार्यक्रमले १३९ देशका १५ हजार भन्दा बढी विद्यार्थीलाई सकारात्मक प्रभाव पारेको छ । यसबाहेक, यसले पाँच सय भन्दा धेरै विश्वविद्यालय र कलेजहरूसँग साझेदारी गरेको छ । सीड्स फर द फ्युचर नेपाल सन् २०२१ मा नेपालमा शुरु भएको हुवावेको प्रमुख सीएसआर कार्यक्रम हो ।
यस कार्यक्रमले सहभागीलाई शिक्षा र सांस्कृतिक आदानप्रदानको मिश्रण गर्ने अनुभव प्रदान गर्दछ । छनौटमा परेका विद्यार्थीहरू विगतमा थाइल्याण्ड, सिङ्गापुर र चीन भ्रमणमा समेत गएका थिए ।





