
काठमाडौँ : महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्वारा थाहा नगरपालिका–११, देउराली, मकवानपुर स्थित श्री कालीदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरू मध्ये ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा बैंकले ज्याकेट वितरण गरेको हो । न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरू देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले बैंकको पालुङ्ग शाखाद्वारा पुस २७ गते एक कार्यक्रमका बीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको थियो ।
साथै सर्वोदय परियोजना नामक गैहृ सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरूको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सृजनशीलतालाई प्रवर्द्धन गर्न आयोजित ‘Sensation Unseen : अदृश्य मोतीहरू’ नामक कार्यक्रम सञ्चालन गर्नको साथै बैंकले आर्थिक सहयोग गरेको छ ।
यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।