काठमाडौँ : नबिल बैंकले बिदेशबाट फर्किएका दक्ष जनशक्तिहरुलाई नेपालमा नै व्यवसाय गर्नको लागि नबिल दक्ष प्रवासी उद्यमशिल कर्जा प्रदान गर्दै आएको छ ।
बैंकले वर्षौ सम्म आफ्नो परिवार छोडेर बिदेशमा काम गरेर स्वदेश फर्किएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले नेपालमा नै आफ्नो घर परिवार संग बसेर आय आर्जन गर्न सकुन भन्ने उद्देश्यले नबिल दक्ष प्रवासी उद्यमशिल कर्जाको सुरुवात गरेको हो ।
बैंकले न्युनतम आकर्षक ब्याजदरमा योग्य दक्ष जनशक्तिलाई १५ लाख देखि १० करोड सम्म कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख सम्म र ठुला व्यवसाय गर्ने उद्यमीलाई १० करोडसम्म कर्जा उपलब्ध गराउँदै आएको हो । बैदेशिक रोजगारीमा गएर फर्केकाहरुको लागि सहज सरल र आकर्षक प्याकेजको घोषणा गरेको बैंकले यस्तो कर्जा बढीमा ५ कार्यदिनमा उपलब्ध गराउने बैंकका प्रमुख व्यवसाय अधिकृत टेकराज भट्टले बताए ।
उनका अनुसार बैंकले कर्जाको ब्याजदरमा समेत विशेष सहुलियत दिँदै आधार दरमा १.५ प्रतिशत ब्याजदर जोडेर कायम गरेको छ भने यस्तो कर्जा लिनको लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने छ । भट्टका अनुसार बैंकले उपलब्ध गराउने प्रवासी उद्यमशिल कर्जा १० वर्ष अवधिको रहने र नेपालमा नै आफ्नो सिप अनुसारको व्यवसाय शुरु गर्ने बैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्ति तथा उनीहरुको परिवारलाई यो सुविधा उपलब्ध गराउँदै आएको छ ।
विदेशबाट विभिन्न सीप र पुँजी लिएर स्वदेश आएकाहरुलाई नेपालमा नै रोजगारी र उद्यमशीलतामा ल्याई व्यवसाय विस्तार गराउन सके देशको आर्थिक अवस्था नै माथि उठ्नसक्ने भएकोले बैंकले यस्तो कर्जा सार्वजनिक गरेको हो । बैंकका व्यवसाय अधिकृत भट्टले भने, ‘यस योजनाले आफ्नो परिवार छोडेर प्रदेश जान बाध्य भएका नेपालीहरुलाई स्वदेशमा नै व्यवसाय गरेर घर परिवार संग बस्न पाउने अवसर सिर्जना गरेको छ ।’
भट्टले भने, ‘देशमा ठुलो मात्रामा तरलता भएपनि कर्जाको माग नबढेको समयमा बैंकले दक्ष कामदारहरुलाई कर्जा लगानी गर्दा उनीहरुलाई आफ्नो व्यवसाय कसरी अगाडी बढाउँदा प्रतिफलमुखी हुन्छ भन्ने पहिले नै जानीसकेको हुने हुँदा बैंकको लगानी समेत सुरक्षित बनेको छ।’

रेमिट्यान्सले धानेको हाम्रो अर्थतन्त्रलाई रेमिटेन्स मात्र होइन रेमिटेन्स पठाउनेहरुले नै व्यवसाय गरेर रोजगारी सिर्जना गरी आत्मनिर्भरको बाटोमा हामी लाग्नुपर्छ भन्ने उद्देश्यले बैंकले यस्तो कर्जामा विशेष प्राथमिकता दिएको हो ।
यस्तो कर्जा बिदेशमा बसेर रेमिटेन्स पठाइरहेका दक्ष जनशक्तिको परिवारले सोही पेशाको लागि नेपालमा पूर्वाधारहरु बनाउदै गर्ने र अन्त्यमा स्वदेश फर्किएर आफुले समेत सोही पेशा शुरु गर्न आबश्यक पर्ने अपुग रकमको लागि बैंकले कर्जा उपलब्ध गराएर सहयोगिको भुमिका निर्वाह गर्दै आएको छ ।
२०८० साल माघ ११ गते देखि शुरु गरेको दक्ष प्रवासी उद्यमशिल कर्जा योजनामा हालसम्म ठुलो मात्रामा बैदेशिक रोजगारबाट फर्केर आएका नेपालीहरु जोडिइसकेको भट्टले बताए ।
बैंकको कर्जा योजनाले कर्जा मात्रै नभएर रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा समेत ठुलो योगदान पुग्नुका साथै प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको समेत उपयुक्त प्रयोगमा जोड दिने बैंकले विश्वास लिएको छ ।





