शिखर पावर डेभलपमेन्टले माघ ६ देखि आईपीओ निष्कासन गर्ने

२०८२ पुष २३, बुधबार

काठमाडौँ : शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी माघ ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ३२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन अनुमति पाएको हो। सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता साधारण शेयर निष्कासन गरिनेछ।

कुल निष्कासित शेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्मका स्थानीय बासिन्दा तथा ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसका वडा नं. २, ३, ४ र ५) का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

यस्तै, बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिनेछ। यदि यी दुई समूहका लागि छुट्याइएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते बन्द हुने छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार