काठमाडौं : नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
जितका लागि इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन बनाए । ओपनर कुशल भुर्तेलले २९ रनको उत्कृष्ट पारि खेले भने अर्का ओपनर आशिफ शेखले ७ रन मात्रै बनाउन सके ।
मध्यक्रमका ब्याटर आरिफ शेखले १० रनको योगदान दिए । लोकेश बमले ३९ रन बनाए भने गुल्सन झाले १ रन मात्रै बनाउन सके । करण केसीले १ रन थपे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
भारतको मुम्बईस्थित वानखडे स्टेडियममा भएको खेलमा नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।









