तनहुँ : जिल्लाको आँबुखैरेनीमा रहेको मस्याङदी जलविद्युत् केन्द्रको बाँध, सुरुङ, पावरहाउसलगायतका संरचना मर्मतसम्भार कार्य धमाधम भइरहेको छ ।
उनान्सत्तरी मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ ।
गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत् उत्पादन बन्द गरी मर्मत कार्य अघि बढाइएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए । कालीगण्डकीलगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य थालिएको हो । उनले भने, “बाँधमा बालुवा थुप्रिएका कारण सफा गर्न र गेट भत्किने अवस्थामा पुगिसकेकाले निर्माण कार्य थालिएको हो ।”
सुरुङ र अन्य संरचनाहरूको मर्मतसम्भार गर्नुपर्ने भएको थियो । उनले भने, “कार्यालयबाट पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको हो ।” यही फागुन २२ गतेदेखि सो आयोजनाको विद्युत् उत्पादन सुचारु गर्ने योजना रहेको सो केन्द्रले जनाएको छ । विसं २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत् आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।










