काठमाडौं : टी–२० विश्वकपको सुपर आठ अन्तर्गत दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ ।
दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराएको हो । यो जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल सम्भावना बलियो बनेको छ भने यो नतिजाले भारतलाई समेत सहज भएको छ । भारतले वेस्ट इन्डिज र जिम्बाब्वे दुबै टिमलाई हराउनुपर्नेछ । इन्डिजले पनि भारतमाथि राम्रो रनरेटका साथ जित निकाल्नुपर्नेछ ।
१७७ रनको लक्ष्य अफ्रिकाले १६.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो । कप्तान एडेन मार्करमले अविजित ८२ रन बनाउँदा रायन रिकल्टन ४५ रनमा अविजित रहे । यस्तै, क्वीन्टन डी ककले ४७ रनको योगदान दिए । बलिङतर्फ इन्डिजको एकमात्र विकेट रोस्टन चेजले लिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन जोड्यो ।
जेसन होल्डर र रोमारियो शेफर्डले सानदार साझेदारी गर्दै वेस्ट इन्डिजको लक्ष्य उकासे । दुवैले आठौँ विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १७० रनमाथि पुर्याए। यो टी–२० विश्वकपको इतिहासमा आठौँ विकेटका लागि बनेको सबैभन्दा ठूलो साझेदारी हो। शेफर्ड ५२ रनमा अविजित रहँदा होल्डरले ४९ रन जोडे । ब्रेन्डन किङले २१, शाई होपले १६ रन बनाए ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडीले तीन, कागिसो रबाडा र कोर्बीन बोसले दुई–दुई विकेट लिए ।










