मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत

२०८२ फाल्गुन १९, मंगलवार

कैलाली : कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण गरिएको छ । यहाँ ठूला ढुङ्गाको प्रयोग (बिगबोल्डर) गरी ६८० मिटर लामो तटबन्ध निर्माण गरिएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरले यहाँ तटबन्ध निर्माण गरेपछि वर्षौँदेखि नदी कटानको त्रासमा रहेका नागरिकले राहत महसुस गरेका छन् । आयोजनाका इन्जिनियर उत्तम सुवेदीले भ्याटसहित रु चार करोड ११ लाखको लागतमा तटबन्ध निर्माण गरिएको र यसले नदी कटान नियन्त्रणमा सघाउ पुगेको बताए । यसअघि नदीको कटानले नेपाल–भारत सीमामा रहेको १०५ नम्बर सीमास्तम्भसमेत जोखिममा परेको थियो ।

तटबन्ध निर्माणपछि तटीय क्षेत्रमा बसोबास गर्ने दुई दर्जनभन्दा बढी परिवारले राहत महसुस गरेका स्थानीय खडग धामीले बताए । “वर्षौँदेखि नदी कटानको जोखिम भोग्दै आएका थियौँ । बर्खायाममा कतिबेला घर बगाउने हो भन्ने त्रास हुन्थ्यो, सयौँ बिघा जमिन कटान गरेपछि कतिपय परिवार विस्थापित भइसकेका छन् । अब त्यसबाट जोगिने आशा जागेको छ”, उनले भने ।

यहाँ कतिपय परिवारको हातमा लालपुर्जा छ, तर जमिन छैन । ती परिवारको खेतीयोग्य जमिन नदी तथा बगरमा परिणत भएको छ । धामीले भने, “यो तटबन्ध पाँच वर्षअघि निर्माण भएको भए धेरै परिवार विस्थापित हुनुपर्ने थिएन । यसबारे पटक पटक मन्त्रालय र नेताहरूलाई पनि भन्यौँ । अन्तिममा हाम्रो मागको सुनुवाइ भई तटबन्ध बनेको छ । यसले थप जोखिमबाट जोगिएका छौँ ।”

यहाँ गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण गरिएको हो । स्थानीय रणसिंह धामीले तटबन्ध निर्माणपछि अब थप जोखिम नहुने आशा जागेको बताए । “नदीले कटान गरेर दुःख दिइरहेको थियो, बर्खा लागेपछि त ढुक्क भएर निदाउन पनि पाइने अवस्था थिएन । तटबन्ध बनेपछि त्यसबाट राहत मिलेको छ”, उनले भने ।

पूर्वसांसद न्यौपानेले तटबन्ध निर्माणपछि मोहना नदीले कटान गरेर बर्सेनि दिँदै आएको पीडाबाट ठूलो राहत भएको बताए । “बर्खायाममा मात्रै होइन, सुक्खायाममा पनि नदीले कटान गर्ने गरेको थियो, जनता त्रासमा थिए । हामी पनि यही क्षेत्रको प्रतिनिधि भएकामा तटबन्ध निर्माणका लागि निकै दबाबमा थियौँ”, उनले भने, “सबैको पहलपछि यहाँ तटबन्ध निर्माण भएको छ । सरकारले जनता पीडा र हाम्रो आवाजको सुनुवाइ गरेकामा खुसी लागेको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री डा रणबहादुर रावलले तटबन्धमा ढिलाइ हुँदा धेरैले जमिन गुमाएको र अब भने त्यो जोखिम नदोहोरिने विश्वास व्यक्त गरे । “सरकारले कर्णाली र मोहना नदीमा तटबन्ध गरे पनि यहाँको केही भागमा बाँकी थियो, जसले गर्दा नदी छेउका धेरै नागरिकको जमिन कटान भयो । ढिलै भए पनि हामी सबैको पहलले समस्या समाधानका लागि तटबन्ध निर्माण भएको छ”, उनले भने ।

मोहना नदी कटानले नेपाली भूभाग भारततर्फ गएको छ । आफ्नो जमिन नदीपारि भारततर्फ गएपछि यहाँका नागरिकले त्यहाँ गएर खेतीपाती गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार