घोडेपानी : यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।
समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल वसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका बासिन्दा देवेन्द्र पुन (सुशील)ले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी पाहुनाको पर्खाइमा रहेको बताए ।
‘ढकमक्क गुराँस फुलेर पाखा रङ्गिन थालेको घोडेपानी पाहुनाको स्वागतका लागि आतुर छ’, उनले भने, ‘घोडेपानीको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।’ स्वच्छ हावापानी र शान्त वातावरणले तनमन चङ्गा बनाएको बेनीबाट घोडेपानी घुम्न गएका मिलन खत्रीले अनुभव सुनाए । ‘गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनायो’, उनले भने, ‘हिमाल हेर्दै गुराँससँग रमाउँदा समय बितेको पत्तै पाइँदैन ।’
गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने आन्तरिक पर्यटक प्रमिला जोशी श्रेष्ठले बताइन् । श्रेष्ठको टोली गत शनिबार घोडेपानी पुगेर गुराँसका बोटमा रमाउने र तस्बिर खिचाएर फर्किएको थियो । चैत–वैशाख गुराँस फुल्ने याम हो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धवलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।
एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उनको दाबी छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ ।
घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो । गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ । फर्कँदा प्यारीबराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ ।
घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि बसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । याम सुरु भए पनि यसपालि पर्यटक आगमन अपेक्षाकृत हुन नसकेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष जुली ठकुरी पुनले गुनासो गरिन् ।
मध्यपूर्वका देशहरूमा उत्पन्न तनाव, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र प्रतिकूल मौसमका कारण पर्यटक आगमन हुन नसकेको उनले बताइन् । विदेशी पर्यटकको आगमन कम भए पनि विद्यालयहरूको वार्षिक परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि विद्यालयहरू बिदा हुने, शिक्षक र कर्मचारीहरू नयाँ वर्षको अवसर पारेर घोडेपानी घुम्न आउने अपेक्षा होटल व्यवसायीहरूले गरेका छन् ।
स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छन् । घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छन् । एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।
घोडेपानीमा सवारीसाधन र पैदलयात्रा गरेर पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार, शिख, चित्रे हुँदै २१ किलोमिटर दूरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ । कास्कीको नयाँ पुलदेखि बिरेठाँटी–उल्लेरी हुँदै घोडेपानी जोड्ने कच्ची सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ ।
घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाँडातर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरू रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुनर्निर्माण, सडक स्तरोन्नति र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिइएको बताए ।
‘सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँ पुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएको छ’, उनले भने, ‘घोडेपानीमा पर्यटकको बसाइ लम्ब्याउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।’









