काठमाडौं : मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ । आइतबार मुम्बईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा तीन पटकको विजेता कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको हो ।
वाङ्खेडे स्टेडियममा आइतबार बेलुका भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्यो । कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
यो मुम्बईले पूरा गरेको सर्वाधिक योगफलको रन चेज समेत हो । ३००औं टी-२० खेल खेलिरहेको मुम्बईले यही खेलमा कीर्तिमानी चेज गरेको हो ।
रिकेल्टनले ४३ बलमा ४ चौका र ८ छक्कासहित ८१ रन बनाए । रोहितले ३८ बलमा ६ चौका र ६ छक्कासहित ७८ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरे ।
तिलक वर्माले १४ बलमा २० रन बनाए । कप्तान हार्दिक पान्ड्याले अविजित ११ तथा नमन धिरले अविजित ५ रन बनाए । कोलकाताका लागि वैभव अरोरा, सुनिल नरायनले र कार्तिक त्यागीले एक-एक विकेट लिए । रिकेल्टन रनआउट भएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो ।
अजिन्क्या रहानेले ४० बलमा ३ चौका र ५ छक्कासहित ६७ रन बनाए । अंगकृश रघुवंशीले ५१ रन बनाए। फिन एलेनले ३७ तथा रिंकु सिंहले अविजित ३३ रन बनाए । मुम्बईका शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । कप्तान हार्दिक पान्ड्याले १ विकेट लिए ।









