वासिङटन डीसी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न तयार रहेको बताइएको छ । महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला नभए पनि उनी इरानविरुद्धको युद्ध अन्त्य गर्न तयार रहेको भन्दै द वाल स्ट्रिट जर्नलले समाचार छापेको छ ।
समाचारका अनुसार ट्रम्प र उनका सहयोगीहरूले हर्मुज खुलाउन सैन्य कारबाही विस्तार गर्दा द्वन्द्व निर्धारित ४ देखि ६ हप्ताको समयसीमाभन्दा बाहिर जान सक्ने मूल्याङ्कन गरेका छन् ।
अमेरिकी पक्षले इरानको नौसेना र मिसाइल क्षमतामा ठूलो क्षति पुर्याइसकेको ठहर गर्दै अब जारी संघर्ष अन्त्य गर्ने विकल्पमाथि विचार भइरहेको प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।
साथै सैन्य दबाबभन्दा बाहिर गएर कूटनीतिक माध्यमबाट इरानलाई पुनः व्यापारिक जलमार्ग खोल्न दबाब दिने रणनीति अपनाउने तयारी रहेको जनाइएको छ ।
यस विषयमा प्रतिक्रिया लिन बीबीसीले ह्वाइट हाउससँग सम्पर्क गरेको भएपनि प्रतिक्रिया आइनसकेको बताइएको छ ।









