अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि

२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौं : क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले दमाकलाई ४-१ ले हराउँदै साउदी प्रो लिगको उपाधि जितेको छ ।

सन् २०२३ को जनवरीमा साउदी अरब पुगेपछि रोनाल्डोको यो पहिलो लिग उपाधि हो । अल नासरले क्लब इतिहासको ११औँ लिग उपाधि जित्दा रोनाल्डो आबद्ध भएयताको पहिलो सफलता पनि हात पारेको हो । अन्तिम खेलअघिसम्म उपाधि होडमा रहेको अल हिलालभन्दा अल नासर दुई अङ्कले अघि रहँदै च्याम्पियन बनेको हो ।

गत साता अल हिलालसँग १–१ को बराबरी खेल्दा ब्राजिली गोलरक्षक बेन्तोको इन्जुरी समयमा भएको गल्तीका कारण अल नासरले उपाधि पक्का गर्ने अवसर गुमाएको थियो । त्यसपछि टोलीले एसियाली च्याम्पियन्स प्रतियोगिताको फाइनलमा जापानी क्लब गाम्बा ओसाकासँग घरेलु मैदानमै अप्रत्याशित हार बेहोरेको थियो ।

यो सिजन रोनाल्डोको लिगमा २७औँ र २८औँ गोल थियो । उनले साउदी अरबमा तीन सिजन बिताउने क्रममा अल नासरका लागि एक सयभन्दा बढी गोल गरिसकेका छन् । खेलको अन्त्यतिर भावुक देखिएका रोनाल्डोलाई खेल सकिन तीन मिनेट बाँकी हुँदा मैदानबाट बाहिर निकालिँदा समर्थकले उभिएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार